शिक्षा मानिसको नैसर्गिक अधिकार हो । राष्ट्रसंघले यसलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार अन्तर्गत राखेको छ । औपचारिक रुपमा व्यक्तिलाई शैक्षिक अधिकारको प्रत्याभूती गर्नु जुनसुकै राज्यको दायित्व हो । शिक्षाले नै मानिसलाई ज्ञान, सिप, क्षमता तथा असल व्यवहार सिकाउंदै सबलिकृत मार्गमा अग्रसर गराउंछ । सामान्य अर्थमा शिक्षाको कार्य सिकाउनु हो, यद्यपी शिक्षा सिकाई मात्र होइन, अपितु सिर्जनशिलता र व्यवहारिकताको अभिवृद्धि पनि हो ।
नेपालको सन्दर्भमा शिक्षाको संकुचित अर्थमा मात्र प्रयोग भएको छ । त्रिभुवन विश्वविद्यालय स्थापनाको पाँच दशक नाघिसक्दा पनि शिक्षाले अनुकरणात्मक सिकाई बाहेक गुणात्मक रुपमा सिर्जनशिलता र व्यवहारिकतामा कुनै फड्को मार्न सकेको छैन । फलतः नेपाली समाज विदेशी चिन्तकको मार्गदर्शन अनुकरण गर्दै असफल बाटोमा हिंडिरहेको छ । हाम्रा विद्यालय र माहाविद्यालयहरु ले विदेशी विद्धानको मार्ग अनुकरण गर्न मात्र सिकाउंछन्, यहाँको वातावरण र परिवेश अनुरुपको सिर्जना र व्यवहारको आविष्कार तर्फ पटक्कै ध्यान दिन सकेका छैनन्, जसकारण हाम्रो राजनीति, समाजव्यवश्था, संस्कृति, रहनसहन, भोगाई सबै मौलिकता विपरित गएका छन्, अर्काको अनुकरण गर्न खोज्दा समाज र राज्य कतै अल्मलिएको छ–सहि निकास पाइरहेको छैन ।
हामीले सिक्यौँ मात्र–दर्शनमा थेल्स देखि सुकरात, प्लेटो, अरस्तु, हिगेल, कान्ट, माक्र्स, विट्गेन्सटाइन सम्म, विज्ञानमा ग्यालिलियो, न्यूटन देखि हाइजेनबर्ग र हकिंग्स सम्म, गणितमा पाइथागोरसदेखि लाइब्निज् हुँदै कान्टोर र रस्सेल सम्म, राजनीतिमा आदिम साम्यवाददेखि वैज्ञानिक समाजवाद–साम्यवाद हुँदै भुमण्डलीकृत उदारवाद सम्म वा वैदिक सभ्यतादेखि आजको प्रजातन्त्ररुपि भिडतन्त्र सम्म, समाजशास्त्रमा कम्टेदेखि वर्गसंघर्षको सिद्धान्त हुँदै तथाकथित अनिश्चित भ्रमरुपी–कृष्णको लिला झैँ उत्तरआधुनिकताको गफसम्म अनि पूर्वीय वेद, वेदाङ्ग, उपाङ्ग, वेदान्त, आजिविका, पञ्चतन्त्र आदि–आदि । तर यतिबिध्न सिकिसक्दा पनि हाम्रो समाज अभैm किन रुग्ण छ ?–यसको चिरफार हामीले कहिल्यै गरेनौँ, हाम्रा विश्वविद्यालयहरुले गरेनन्–जो अब नगरी हुँदैन ।
प्रचिन आर्यसभ्यता, प्राचिन ग्रीक र रोम तथा आधुनिक यूरोपले शिक्षाको मार्पmत सिकाईको आदान–प्रदान मात्र गरेनन्, तिन्ले आ–आफ्नो कालमा व्यक्ति, समाज, राज्य र विश्व–व्यवश्थाका अवयवहरुलाई जरैदेखी हल्लाउँदै, परिवर्तन र विकाश गर्दै लगे–त्यसका लागी अनेकन् चिन्तकले अथक खोज–अनुसन्धान गरेर नविन चिन्तनको सिर्जना गर्दै त्यसलाई व्यवहारमा उतारे । तर हामी आपूm सुहाउँदो चिन्तनको सिर्जना गरेर त्यसलाई हाम्रो परिवेश भित्रको व्यवहारमा उतार्न कहिल्यै लागेनौँ । हाम्रो शिक्षा पद्धतीले लागेन । खालि अर्काले देखाएको मार्गमा हिँड्नका लागी झगडा मात्र ग¥यौँ–न त सहि ढंगले तिन्को अन्धाधुन्ध अनुकरण वा प्रयोग नै गर्न सक्यौँ । ठिक यहिँनेर हामीले अँगालेको मार्ग वा प्रयोग गर्न खोजेको सिद्धान्त असफल भयो र यस अवश्थामा हाम्रो शिक्षा पद्धतीले मैलिक बाटो आविष्कार गर्नुको सट्टा असफल बाटोमै हिँडिराख भनेर अबुद्धिसंगत, अथार्थगत अबौद्धिक जोताई पेलिरह्यो । हाम्रो शिक्षाले रटान लगाएर घोकाएको विदेशी चिन्तकको, विदेशी विश्वविद्यालयबाट आयातीत आर्थिक, सामाजिक, राजनीतिक सिद्धान्त अन्धाधुन्ध प्रयोग गर्न खोज्दा र हाम्रो सापेक्ष गर्न नजान्दा–नसक्दा नेपाली समाज, बुद्धिजिवीतन्त्र, राज्य सबै अन्धकार र भद्रगोलमा रुमल्लिन पुगेका छन् । गोपालवंशिहरुले शासन गरेयता हामीले थाहा पाएको नेपाली इतिहासमा प्राचिन कालका मिथिलाका न्यायसुत्रकार अक्षपाद गौतम, याज्ञवल्क्य, कपिल तथा गौतम बुद्ध बाहेक कुनै मौलिक चिन्तनको आविष्कार नहुनु नै हाम्रो पछौटेपनको प्रमुख कारक हो । आजको यूगमा त्यस काममा अघि सरेका वि.पि. कोइराला लगाएतका काँग्रेसी प्रभृत्तीले पनि यूरोपीय फेवियनवादको परिष्कार, नेहरुको अनुवाद र लोहियाको शब्द सापटी लिनु बाहेक केही गर्न सकेन । अझ त्यसयताका रामशरण महत, मिनेन्द्र रिजाल, प्रकाशचन्द्र लोहनी लगायतले त अमेरिकी सरकारी थिंक ट्यांक र त्यहाँका विश्वविद्यालयले समाजवाद मास्न दिएको अस्त्रको प्रयोग र भाषानुकरण तथा विश्व बैँक, एडिबि र यूएनडिपिका आदेश कार्यान्वयनका लागी सिद्धान्त र नीतिको तर्जुमामा मात्र ध्यान केन्द्रित गरे–राज्यको नीति र सिद्धान्तमा स्वदेशीपना हटाएर नेपाललाई तिन्ले शिक्षार्जन गरेको विदेशि विश्वविद्यालय परिसरको अत्याधुनिक पुँजिबादी थलो भैmँ सम्झे । अझ गहिरिएर हेर्ने हो भने एमाले प्रभृत्तीले त कतिसम्म भने विदेशी दाता रिझाउन आफ्नो विद्यमान सिद्धान्तलाई बेचेर जबज खरिद ग¥यो जसको सोझो नियत यहाँको सामन्तवादी संस्कृति र दलाल पुजिबादी बजारको विस्तार थियो र भयो पनि त्यस्तै । अझ अर्को अर्थमा त्यो काँग्रेसले पहिल्यै आयात गरिसकेको मोडेललाई दिइएको अर्को उपमा थियो । यिनै शक्तिहरुको सुक्ष्म प्रतिक्रान्ती स्वरुप नेपालको शुदुर भविष्यसम्मका लागी पुग्ने मौलिक स्वदेशी चिन्तन, सिप, कौशल र निती स्थापीत गर्न ज्यानको बाजी थापेर जनयूद्धमा होमिएका योद्धाहरुको नविन मुल्य र मान्यता संस्थागत हुन नदिने दुश्चेष्टा गरियो–जुन यहाँ साँझको राँकेभुतभैmँ भित्रभित्रै सल्बलाएको दलाल पुँजिबादि अभ्यास र बुर्जुवा मनःस्थितीको उपज हो जसको उत्पादन आर्थिक–सामाजिक–साँस्कृतिक मात्र नभएर बौद्धिक र शैक्षिक परनिर्भरताले गरिरहेको छ । अब हाम्रा विद्यालय र माहाविद्यालयहरुले बौद्धिक परनिर्भरताको सट्टा हाम्रो परिवेश सुहाउँदो राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक चिन्तनमा लागेर नविन सिद्धान्तको खोजि र आविष्कार गर्दै त्यसको प्रयोगमा लागेन र अभैm विदेशि चिन्तकको अनुकरणमा मात्र सिमित भयो भने हामी अभैm पछौटेपनको सिकार हुने निश्चित छ ।
शिक्षाको काम सिकाईको आदान–प्रदान हो भने त्यस्तो सिकाई सिर्जनशिल, नैतिक र व्यवहारिक हुनैपर्दछ । सिर्जनशिलताको अर्थ हो पुराना र अरुका कुरा सिकेर त्यसको जगमा नयाँ सिद्धान्त, चिन्तन र मार्गदर्शनको खोजि, नैतिकताको अर्थ हो सिर्जीत चिन्तन र मार्गदर्शनको वैयक्तिक, सामाजिक, राजनीतिक जीवनमा प्रयोग गर्दै व्यवश्थित समाजको निर्माण र व्यवहारिकताको अर्थ हो सिकिएको र सिर्जीत ज्ञान, सीपको व्यवहारमा प्रयोग गरी कार्यक्षमताको अभिवृद्धि गर्नु । यिनै तीन आयामलाई समेट्न सक्ने सिक्षा पद्धती र पाठ्यक्रम हाम्रा विद्यालय, माहाविद्यालयहरु ले लागु गर्न सके भने हाम्रो अहिलेको अवश्थामा कायापलट हुन सक्दछ र हामी आधुनिक यूरोप झैँआफ्नो मौलिकताको परिष्कार गर्दै विकाशको पथमा अघि बढ्न सक्दछौँ ।
तर शिक्षाले अहिलेको सन्दर्भमा किन त्यस्तो कायापलट गर्न सकेन ? किन यसले हाम्रा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक समस्याहरुको हल गर्ने यथेष्ट उपायको सिर्जना गर्न सकेन ? नेपालको शैक्षिक क्षेत्रका निति निर्माताहरुका लागी यो निकै जटिल प्रश्न हो । शैक्षिक विषयवस्तु र पाठ्यक्रममा नक्कल र अनुकरण मात्र हाम्रो समस्या होइन, हाम्रो समाज र बौद्धिक क्षेत्रको चरित्र नै अध्ययनहीनता, अल्पज्ञान, एक विषयको ज्ञातालाई सबै विषयको सर्वज्ञ ठानेर उसैबाट सबै समस्याको हल खोज्नु तथा हासिल भएको ज्ञानलाई समय सापेक्ष नविन अर्थमा नहेरेर सधैँ आपूmले जानेको एकमात्र ज्ञान सही, अपरिमार्जनीय र निरपेक्ष हो भन्ठान्नु । समयको माग र गति अनुसार ज्ञानको प्रशस्त ढोकाहरु नखुल्नु नै हाम्रो विश्वविद्यालयीय अनुसन्धानात्मक रुग्णता हो । यहाँका प्राध्यापकदेखी समाजका प्रतिष्ठित बाहक सम्मले हाम्रो समाज, हाम्रो परिश्थति, इतिहास र समुल नेपाली चरित्रको अध्ययन नै गरेनन् । त्यसलाई सधैँ पाश्चात्य परिवेशमै बुझ्ने र ढाल्ने चेष्टामात्र गरे । तिनले नेपाली मौलिक परिवेशको अनुशिलनात्मक अध्ययनको साटो सर्टिफिकेट देखाएर बिक्न मात्र खोजे । फोस्रो मक्किइसकेको पाश्चात्य बौद्धिकताको ढोंग बोकेर विश्वविद्यालय, योजना र निति निर्माणका क्षेत्र तथा जुनसुकै क्षेत्रमा नियूक्ति लिए, पद पाए र भरपुर उपयोग गरे अनि नेपाली समाजको मुल चरित्र भन्दा नित्तान्त भिन्न सिद्धान्तहरुको विभिन्न वाद र दर्शनका नाममा कार्यान्वयन गरेर, गर्न खोजेर विदेशी दाता रिझाउन मात्र लागी परे । परिणामतः समाज संक्रमणमा त गयो तर निकास पाएन र नेपाली समाजमा यूगीन परिवर्तनको सट्टा भिडतन्त्र मडारियो । यसको कारण हो तिनले लिएको पाश्चात्य शिक्षा शिल्प नेपाली परिवेशसंग नमिल्नु । तिनै बुद्धिजीवि का कारण हामीले अभ्यास गर्दै आएको आर्थिक उदारवादको सिद्धान्त, धर्मको बहस, समावेशिता, संघियता जस्ता सबै कुरामा हाम्रो मौलिकता भन्दा बाह्य समाजको परिश्थितीबोध बढी हावि भएका छन् । फलतः तीन्को उन्नतता भन्दा नकारात्मकता यहाँ छताछुल्ल भइरहेको छ । हाम्रो शिक्षा पद्धतीले उत्पादन गरेका बुद्धिजीवीहरु ले नेपालको सन्दर्भमा यस्तो आर्थिक सिद्धान्त चाहिन्छ, यस्तो कानुन, नियम, यस्तो संघीय मोडेल चाहिन्छ भनेर बोल्नुको सट्टा यूरोपमा यस्तो भयो यहाँ भएन भनेर खिन्नता मात्र ओकलिरहे । देशभित्र पद हत्याउनका लागी, आफ्नो संस्थामा अनुदान भित्य्राउनका लागी र विदेशी सेमिनार र भ्रमणका लागी मात्र लालायित हाम्रो शैक्षिक–बौद्धिक जगत विदेशी बजारमा बिक्ने महंगा गहना, खेलौना, पोशाक तथा विलासिताका सामाग्री हेरेर यहाँको किसानका लागी निती बनाउँछन–विश्व बैँक, यूएनडिपी, एडिबि आदि–आदिको निर्देशनमा । अन्ततः त्यसले यहाँ ठूलो आर्थिक– सामाजिक विभेदको सिर्जना गरेको छ । सिमान्त जनता उठ्नै नसक्ने गरी पछारिएका छन् । यस्तो विषमतालाई बुझ्ने परख भएको कुनै सिद्धान्त विश्व–बौद्धिक बजारमा छैन र अब नेपालको शिक्षा क्षेत्रले त्यसको खोज गर्नु अनिवार्य छ । हाम्रो शैक्षिक अनुसन्धानले अफ्रिकाको आदिम अश्थिपञ्जरको विश्लेषण र रटानमा मात्र ध्यान केन्द्रित नगरेर यहाँका थारु, किराँत, मधेशी, भोट–बर्मेलीहरुको उहिल्यै अनुसन्धान गरेर राज्यलाई तिन्को वास्तविकता बुझाएर योजना निर्माण र कार्यान्वयनमा घच्घच्याएको भए आज अधिकारका लागी दिनदिनै मानिसले ज्यान गुमाउनुपर्ने अवश्था आउने थिएन । देशका मनोरम शान्तीमय दुरदराजका ठाउँमा निषेधाज्ञा लगाएर बारुद झोस्नुपर्ने थिएन ।
ज्ञातव्य रहोस कि हिटलरले बाँच्न, पेटपाल्न र आफ्नो सौख चित्रकला पढ्न पाएका भए उनी मान्छे मार्न उद्दत हुने थिएनन् । यहि अवश्था हो शुदुरपश्चिमका थारुहरुको पनि जसले बौद्धिक अभ्यास गर्ने मौका कहिल्यै पाएन । हाम्रो शिक्षा पद्धती देशका सिमान्त वर्गको बाँच्ने, पेट पाल्ने, छनौट गर्ने र छनौटअनुसार उपभोग गर्न सिकाउने अनि राज्यलाई नागरिकले छनौट गरेबमोजिमको अधिकार दिने मार्ग सिकाउन सक्दैन भने यहाँ सधैँ दुर्गतीले स्थान पाईरहने छ । तसर्थ समाज सुहाउँदो शिक्षापद्धती निर्माणमा आजैदेखि लागौँ ।