एक्काईसौँ शताब्दीसम्म आईपुग्दा समाज विकासको विभिन्न चरणहरुमा इतिहास विभिन्नखाले सत्ता, शासन र शासकहरुको साक्षी भइसकेको छ । इतिहासमा समाज राज्यमा रुपान्तरण भएयता गम्भीर ढंगले सत्ताको चरित्रमाथि नियाल्ने हो भने धेरै फरक पाटाहरुका बावजुद एउटा आयाममा गएर हाम्रो दृष्टी पटाक्षेप हुन बाध्य हुन्छ र त्यो आयाम हो सत्तान्धता । यहि सत्तान्धताले नै जनप्रिय, जनअनुमोदित कैयन सत्ताधारीहरु आम मानिसको नजरमा राक्षसको चित्र बनेर उभिएका छन । सत्तान्धताले सधैँ हिटलर र मुसोलिनी मात्रै जन्माउँदैन, बल्की आम मानिसको नजरमा प्रजातन्त्रको पर्यायवाची जस्तो भएर बसेकी आङ साङ सुकी जस्ता मानिसलाई समेत रोहिङ्गामाथिको अत्याचारमा समर्थन गर्न विवस बनाइदिन्छ । सत्ताको यो चरित्र हाम्रो देशमा चाहे राणा शासनमा होस या पञ्चायतकाल, संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवश्थामा होस या गणतन्त्र, इतिहासको जुनसुकै मोडमा अजम्बरी भएर रहेको देख्न पाउँछौँ । सिंहदरबार देखी वडा कार्यालयसम्म अन्ध सत्ताधारीहरु आपूmलाई सर्वैसर्वा ठानेर बसेका भेटिन्छन । सत्ता सदैव मायावादी नै हुन्छ, यसले आपूmलाई मात्रै सत्य र लोकलाई मिथ्या देख्दछ । सत्ताले सत्ताधारीहरुमा जन्माउने माया, लिला र भ्रमको साङ्गोपाङ्गो विवेचना यो लेखको ध्यये होईन, बल्की सत्तान्धताको संभावित विनासबाट समाज र राष्ट्रलाई कसरी जोगाउने भन्ने मात्रै यो लेखको मुल विषय हो ।
प्रजातान्त्रिक प्रणालीलाई सुव्यवश्थित बनाउन संसारभरि नै असल प्रतिपक्षको परिकल्पना र अवलम्बन हुँदै आएको छ – त्यस्तो प्रतिपक्ष जो सधैँ सत्ताको विकल्पको रुपमा उभिन सक्छ र जसले सत्ताधारीको अन्ध उन्मादमाथि लगाम लगाउन सक्छ । यो पनि धेरै व्याख्या गरिराख्नुपर्ने विषय अब रहेन, किनभने संसारभरका प्रजातन्त्रप्रति आश्थावान मानिसहरु यसप्रति सजग र सुसूचित भइसके । हरेक प्रजातान्त्रिक राज्यले प्रतिपक्षलाई आफ्नो अंग बनाएकै छ । तर मूलभुत कुरा त्यस्तो प्रतिपक्षले सत्ताधारीहरुलाई सत्तान्धताको मायाबाट मुक्त गर्न सक्छ वा सक्दैन भन्ने नै हो । सत्ताको मुल्यांकन हुँदै जाँदा प्रतिपक्षको पनि यहि धरातलबाट मुल्यांकन गर्नैपर्छ । जब प्रतिपक्ष विगतका आफ्ना कमजोरीबाट अभिशप्त भएर, वा आफ्ना सिमित फाईदाका लागि सत्तासँग सम्झौता गरेर हरेक कुरामा सत्ताको रागमाथि समर्थनको आलाप बजाउँछ या शान्त भएर, निर्लिप्त भएर सत्ताले गाएको राग सुनेर मात्रै बस्छ, त्यतिबेला स्थापित प्रतिपक्षलाई सुधार गर्नु वा अर्कै प्रतिपक्षको निर्माण गर्नु आम नागरिक समाजको दायित्व हुन आउँछ । किनभने प्रतिपक्षको कमजोरी अन्ततः सत्ताधारीको मनलाग्दी गतिविधीमा गएर टुंगिन्छ ।
हालको परिवेशमा नेपाली राज्य एक बलियो सरकार र निरीह प्रतिपक्ष बोकेर हिँडेको छ । सत्याग्रहजस्ता संवेदनशील आन्दोलनलाई समेत सजिलै लत्याएर हिँड्न सक्ने सरकारका अगाडी एउटा निरीह प्रतिपक्षको कुनै जोड चल्न नसक्नु स्वभाविकै हो । सरकारका उट्पट्याङ गफमा हाँसेर खिल्ली उडाउनुबाहेक कुनै रचनात्मक भुमिका प्रतिपक्षले प्रदर्शन गर्न सकेको छैन । देशव्यापी भनेर गरिएको आन्दोलन दुईटा अस्पताल प्रदेशबाट केन्द्रमा सार्ने सरकारी निर्णयसँगै टुंङ्गिदा प्रतिपक्षको घोर लाचारी त प्रस्तुत भईसकेको छ । आन्दोलनको मैदानमा रहेको विपक्षी दलको नेता सुटुक्क प्रधानमन्त्री निवासमा पुगेपछि अनेक शंका उपशंका हुनु अनौठो पनि होईन । अरबौँको विमान घोटालामा प्रतिपक्षले खरो आवाज उठाउला भनेर जनताले सोचेका थिए, तर प्रतिपक्ष मधुरो स्वरमामात्रै सिमित भैदियो । यस्ता अनगिन्ती पाटा छन जहाँ सरकार मनलाग्दी तरिकाले हिँडेको छ र प्रतिपक्ष त्यही आँखा चिम्लिएर बसेको छ ।
अब के गर्ने ? यो यक्ष प्रश्नको उत्तर त्यति सजिलो छैन । प्रजातन्त्रले असल सरकारको अपेक्षा त गर्छ नै, त्यस्तो सरकार पाउन नसक्दा असल र बुलन्द प्रतिपक्षलाई विकल्पको रुपमा अपेक्षा गर्दछ । किन्तु सरकार असफल भएको आभाष आम जनतालाई भईसक्दा समेत सत्ता–विकल्पको रुपमा उभिन सक्ने प्रतिपक्षको अभाव छ । केही आशा सिर्जना गर्दै उदाएका साना दलहरुले समयसँगै आपूmलाई पुनःताजगीकरण गर्न सकिरहेका छैनन । आम सञ्चारजगत, जो सत्ताको स्थायी प्रतिपक्षी हो, त्यसमा पनि घबराहटको स्थ्तिि छ । नागरिक समाजको अगुवाई गर्न सक्ने समाजमा स्थापित व्यक्तित्वहरु समेत सत्ताको चाकडीमा रमाउन थालेका छन । जुनसुकै बुद्धिजिवी भनिनेहरु पनि सत्ताको बारेमा आफ्नो आत्मगत धारणा संप्रेषण गर्नुभन्दा आत्मगत गीत पक्ष प्रतिपक्षमा बाँडिएर गाईरहेका छन । यस्तो अवश्थामा समाजले उचित मार्गदर्शन पाउन सक्दैन, किनभने राज्य र समाजका सबैखाले सत्ता र प्रतिपक्षीका तन्तुहरु मक्किईसके । अब समाजलाई उचित रेखामा डो¥याउने हो भने असल, ईमानदार र दुरगामी दृष्टी राख्नसक्ने प्रतिपक्षको खोजि गर्ने र त्यसलाई सत्ताको विकल्पको रुपमा उभ्यानुपर्ने बेला भैसक्यो ।